'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

Published on 14 May, 2025

'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

गोरखाका अविनाश सिलवाल स्नातकोत्तरमा 'कृषि अर्थतन्त्र' पढ्दै थिए। काम सेयर बजारमा गर्थे। पढाइमा कृषि उत्पादन आयात र निर्यातको तथ्यांक विश्लेषण गर्थे। नेपालले गर्ने ठूलो परिमाणको आयातसँग नगन्य निर्यात तुलना नै हुँदैन थियो। 

कहिलेकाहीँ कृषकको उत्पादन नबिकेर नष्ट हुने गरेको भन्ने समाचार पनि आउँथ्यो। एकातिर कृषि उत्पादन आयात हुने गरेको र अर्कातिर यहाँको उत्पादन फाल्नु परेको कुरा उनलाई नमिठो लाग्थ्यो। 

यस्तो किन हुन्छ?

अविनाशलाई किसान र तिनका उत्पादन बेच्ने व्यापारीबीच तालमेल नमिलेजस्तो लायो। उनी किसानलाई कसरी प्रत्यक्ष रूपमा बजारमा जोड्न सकिन्छ भनेर अनुसन्धान गर्न थाले।

नेपालले प्रविधिमा निकै फड्को मार्दै गएको थाहा नहुने कुरा भएन। बजारमा नगद लेनदेन घट्दै गएको छ। अधिकांश मानिस अनलाइन प्रविधितिर लागेका छन्। कृषि भने जस्ताको तस्तै।

'अहिले पनि किसान कालिमाटी बजारमै तरकारी बेच्न बाध्य छन्। व्यापारी खेतमा पुग्छन्। आफैं मूल्य तोक्छन् र किसानको तरकारी किन्छन्,' अविनाशले भने।

अविनाशले कृषिमा प्रविधि जोड्ने उद्देश्यले इन्टरनेटमार्फत कृषक बजार खोल्ने योजना बनाए। उनी सेयर बजारमा काम गर्ने भएकाले लगानीको समस्या थिएन। एक आइटी कम्पनीलाई एप बनाउन लगाए।

पको नाम राखे 'मेरो किसान'। यसमा उपभोक्ताले एप डाउनलोड गरेर आफूलाई आवश्यक पर्ने तरकारी तथा फलफूल अर्डर गर्न र किन्न सक्ने सुविधा राखे।

कम्पनी एप बनाउँदै थियो। अविनाशले कार्यालय व्यवस्थापनको काम अघि बढाउँदै गए। ग्राहकको घरमा सामान पुर्‍याउन एक कम्पनीलाई डेलिभरी ब्याग बनाउन अर्डर दिए। 

अचानक कोरोना भाइरसका कारण २०७६ चैतमा लकडाउन भइदियो। चौतर्फी बन्द भयो।

'दोधारमा परेँ। तर किसानहरूको तरकारी किनेर उपभोक्तालाई बेच्ने समय यही हो भन्ने निष्कर्षमा पुगेँ,' उनी भन्छन्, 'काठमाडौंको बानेश्वरमा कार्यालय राखेर तुरुन्तै काम थालेँ।'

उनलाई कृषि उत्पादन प्राप्त गर्ने उपायहरू थाहा थिएन। उनले कृषिमा काम गर्ने कम्पनीसँग ठूला कृषकहरूको विवरण संकलन गरे। गुगलमार्फत आफ्नो एप प्रचार गरे।

'एप्लिकेसन (एप) बाट अर्डर गरेर तरकारी र फलफूल किन्न पाइन्छ भनेर फेसबुकमा हाल्यौं,' उनले भने, 'किसानलाई पनि हामी तपाईंको सामान बेच्छौं भनेर फेसबुकबाटै जानकारी दियौं।'

बन्दको समय भएकाले काठमाडौं उपत्यका बाहिर जान सम्भव भएन। सुरूमा गोदावरी र टोखाका किसानको तरकारी ल्याएर बेचे। सामान डेलिभरी गर्न गाडी भाडामा लिए। तीन वटा स्कुटर व्यवस्था गरे।

कोभिडले कम्पनीमा बाहिरका मान्छे राख्ने अवस्था थिएन। उनले परिवार र साथीभाइभित्रैबाट जनशक्ति जुटाए। किसानबाट संकलन गरिएको तरकारी र फलफूल राख्न कोल्ड स्टोर भाडामा लिए।

बिक्रीको काम सुरू गरेको पहिलो दिन करिब २० जना ग्राहकबाट माग आयो। उनका लागि यो निकै उत्साहजनक भइदियो। दिनदिनै माग बढ्दै गयो। 

तरकारीबाट व्यापार सुरू गरेको 'मेरो किसान' ले केही दिनमा फलफूल पनि बेच्न थाल्यो। अविनाशले पहिला काभ्रेबाट किवी ल्याएर बेचे। पछि जुम्लाको स्याउ मगाए।  

'नेपाली माटो, नेपाली उत्पादनः नेपाली पौरख मेरो किसान' भन्ने सन्देश राखेर व्यापार अघि बढ्यो। माग बढ्दै जाँदा नेपाली उत्पादनले मात्रै पुगेन। आयातीत फलफूल पनि बेच्न थाले।

अविनाशले आफ्नो अनुभव सुनाए, 'तरकारीमा हामी आत्मनिर्भर हुन सक्ने रहेछौं। फलफूल चाहिँ आयात नै गर्नुपर्ने रहेछ।' 

व्यवसायले गति लिन थालेपछि अविनाश डेलिभरीका लागि एक महिनामै गाडी किन्न सफल भए।

फलफूल र तरकारी बेच्ने अनलाइन अरू पनि थिए। बजार विस्तार गर्न एकै पटक धेरै खपत हुने ठाउँमा तरकारी र फलफूल बेच्ने अविनाशको योजना थियो। तर कोभिड बाधक भइदियो। 

'ठूलो परिमाणमा उत्पादन गरेको तरकारी ग्राहकलाई एक–एक किलो बेचेर कहिले सक्ने! धेरै बेच्न हामीले बिजनेस टु बिजनेस (बिटुबी) मोडलको योजना बनायौं,' अविनाशले भने, 'कोभिड सामान्य भएपछि काठमाडौं उपत्यकाका रेस्टुरेन्ट र अस्पतालमा पनि तरकारी र फलफूल पुर्‍याउन थाल्यौं।'

अविनाशका अनुसार कोभिडपछि घरायसी ग्राहकको माग घट्दै गयो। तर बिस्तारै रेस्टुरेन्ट र अस्पतालबाट माग बढ्न थाल्यो। हाल केही होटल, रेस्टुरेन्ट र अस्पताल गरी ५० वटाभन्दा बढी ठूला ग्राहकहाँ मेरो किसानले तरकारी र फलफूल आपूर्ति गर्छ। त्यस्तै अनलाइन बजार दराजबाट पनि माग गर्न सक्ने सम्झौता भएको उनले जानकारी दिए।

ग्राहकले मेरो किसानमा आफ्नो आवश्यकताअनुसार सामान माग गर्न सक्छन्। न्यूनतम यति मूल्यको माग गर्नै पर्छ भन्ने छैन। एक हजार रूपैयाँभन्दा बढीको सामान माग गर्ने ग्राहकका लागि भने निःशुल्क डेलिभरी हुन्छ। त्योभन्दा कमको भए ग्राहकले एक सय रूपैयाँ शुल्क तिर्नुपर्छ। ग्राहकले नगद र इ–सेवा वा 'खल्ती' सेवाबाट भुक्तानी गर्न सक्छन्।

अविनाशका अनुसार सामान चित्त नबुझे फिर्ता गर्न सक्ने व्यवस्था पनि छ। 

हाल तरकारी काठमाडौं उपत्यकामा मात्रै वितरण हुन्छ, आगामी दिनमा बाहिर पनि जाने योजना छ। स्ट्रबेरी र किवी लगायत सीमित फलफूल भने कम्पनीले उपत्यका बाहिर पनि पठाउँछ।

मेरो किसानले बालाजुको लोलाङ हाइटमा जग्गा भाडा लिएर पहेँलो र रातो भेडेखुर्सानी (क्याप्सिकम) उत्पादन सुरू गरेको छ।

'यहाँ हरियो क्याप्सिकम मात्रै उत्पादन हुन्थ्यो,' अविनाशले भने, 'पहिलो पटक हामीले नै पहेँलो र रातो पनि उत्पादन गरेका हौं।'

हाल १४ रोपनी जमिनमा फैलिएको यो फार्म कृषिका विद्यार्थीका लागि अभ्यासको थलो पनि बनेको छ। 

मेरो किसानले बुद्धनगर, टोखा र मिलनचोकमा पसल राखेको छ। अविनाशका अनुसार २४ हजारभन्दा बढीले मेरो किसान एप डाउनलोड गरेका छन्। 

'कहिलेकाहीँ किसानहरूले आफ्नो सामान बेचिदिनुपर्‍यो भनेर फोन गर्छन्। एक पटक एक जनाले कपनबाट ग्राउन्ड एप्पल बिकेन, तपाईंले बेचिदिनुपर्‍यो भनेर फोन गरे। हामीले त्यसको विशेषता र मूल्यसहित फेसबुकमा विवरण राख्यौं,' अविनाशले सुनाए, 'ग्राहकबाट पाँच सय किलोको माग आयो। हामीसँग त दुई सय किलो मात्रै थियो।' 

विदेशबाट फर्केर कृषिमा काम गरिरहेका जोसिला युवाका लागि बजारको जिम्मा आफूले लिने उनको भनाइ छ।

'सबैको त भन्न सक्दिनँ तर विदेशबाट फर्केर कृषिमा लागेका युवाले बजार पाइएन भन्न पर्दैन,' उनी भन्छन्, 'उत्पादन गर्नुहोस्, बजारको जिम्मा हामी लिन्छौं।' 

मेरो किसानसँग जोडिने किसानलाई कर्जा व्यवस्था गर्न लागिएको पनि अविनाशले बताए। कतिपय किसानलाई कर्जाका लागि बैंकले माग्ने प्रस्ताव लेख्न आउँदैन। बैंकसँग पहुँच पनि पुग्दैन। त्यस्ता किसानलाई आफूहरूले सहयोग गर्ने उनको भनाइ छ।

अविनाशका अनुसार किसानको बाली बीमामा पनि २५ प्रतिशत शुल्क कम्पनीले बेहोर्छ। अहिले मेरो किसानमा सानाठूला गरेर ५० जनाभन्दा बढी किसान जोडिएका छन्। ती किसानलाई कालिमाटी तरकारी बजारले तोकेको अधिकतम मूल्य दिने गरेको उनले बताए। कम्पनीले दुई रोपनी जमिन भाडा लिएर गोदाम पनि बनाउँदै छ।

'हालसम्म मेरो किसानको लगानी साढे दुई करोड रूपैयाँ पुगिसकेको छ। यसमध्ये ऋण एक करोड रूपैयाँ बैंक ऋण हो,' उनले भने।

आगामी दिनमा दुग्ध पदार्थ पनि उत्पादन गर्ने योजना रहेको र यसका लागि काभ्रे र चितवनका सहकारीसँग सम्झौता भएको उनले बताए। मेरो किसान डेरी नाममा आगामी साउनदेखि बजार पुग्ने योजना छ।

Read Full Article About

Other Articles

किसानको डिजिटल हाटबजार

14 May, 2025

किसानको डिजिटल हाटबजार

सिलवालले बिचौलियाको अवस्था अध्ययनको क्रममा थाहा पाए । बिचौलियाको पनि तह हुन्छ— किसानको बारीबाट किन्ने, ढुवानी गरेर स्थानीय तरकारी संकलन केन्द्रमा लैजाने

Read More About किसानको डिजिटल हाटबजार
कोही किन किसान बन्ने ?

11 May, 2025

कोही किन किसान बन्ने ?

कोरोना कहर, बढ्दो लकडाउन तथा आन्तरिक एवम् वैदेशिक रोजगारबाट फर्केका युवाहरूको बेरोजगारी र उत्पन्न हुन सक्ने खाद्य संकटको कारण यति बेला

Read More About कोही किन किसान बन्ने ?
किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

11 May, 2025

किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

०७६ सालमा कोभिड–१९ महामारी सुरु हुँदा गोरखाका अविनाश सिलवाल कृषि अर्थशास्त्रमा स्नातकोत्तर गर्दै थिए। काठमाडौंको गोल्डेन गेट कलेजमा पढ्दै

Read More About किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’